साकार पोष्ट धादिङ । धादिङ जिल्लाको दीगो विकास र आर्थिक समृद्धिलाई लक्ष्य गर्दै आयोजना हुने १०औँ धादिङ महोत्सव–२०८२ माघ १५ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने भएको छ। “धादिङको दीगो विकास र अर्थतन्त्रको आधार, कृषि, पर्यटन, जलस्रोत तथा उद्योगको पूर्वाधार” भन्ने मूल नाराका साथ महोत्सव आयोजना गरिँदैछ।
महोत्सवको उद्घाटन माघ १५ गते बिहान ११ बजे नीलकण्ठ नगरपालिका–३, धादिङबेसीमा हुने छ। उद्घाटन समारोहमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल प्रमुख अतिथिका रूपमा सहभागी हुने आयोजकले जनाएको छ।
धादिङ उद्योग वाणिज्य संघको आयोजनामा हुन लागेको महोत्सवले कृषि, उद्योग, पर्यटन तथा जलस्रोतको प्रवर्द्धन गर्दै स्थानीय उत्पादनलाई बजारसँग जोड्ने, रोजगारी सिर्जना गर्ने र जिल्लाको आर्थिक गतिविधि बढाउने लक्ष्य लिएको छ।
संघका अध्यक्ष रामकुमार डल्लाकोटीले सबै व्यवसायी, किसान, युवा तथा आम नागरिकलाई महोत्सवमा सहभागी भई सफल बनाउन आग्रह गरेका छन्। महोत्सवमा सांस्कृतिक कार्यक्रम, कृषि तथा औद्योगिक प्रदर्शनी, व्यापारिक स्टल, स्थानीय परिकार र मनोरञ्जनात्मक कार्यक्रम समावेश हुनेछन्।