गल्छी, साउन १ – गल्छी गॅाउपालिका वडा नं ७ गल्छीमा रहेको करदाता सेवा कार्यालय गल्छी आज देखि नुवाकोट, धादिङ र रसुवा जिल्लालाई लक्षित गरी आन्तरिक राजश्व कार्यालयको औपचारिक रुपमा सेवा सुरु गरिएको छ। यसअघि कलंकीस्थित कार्यालयबाट प्रदान गरिँदै आएको सम्पूर्ण सेवा अब गल्छीबाटै उपलब्ध हुने भएको हो।
आन्तरिक राजश्व कार्यालय गल्छीका प्रमुख लक्ष्मी खड्काका अनुसार कर तिर्ने, नविकरणदेखि कर छली अनुसन्धानसम्मका सबै काम यहीँबाट सञ्चालन हुनेछन्। यसअघि नुवाकोट र धादिङको करसम्बन्धी अनुसन्धान कार्य कलंकीबाट हुँदै आएको थियो।
करदाता सेवा कार्यालयको विस्तारसँगै कर्मचारी संख्या ८ बाट बढाएर १६ पुर्याइएको छ। कार्यालय प्रमुख खड्काले ठूला करदातासमेत समेट्ने लक्ष्य रहेको जानकारी दिनुभयो। रसुवाका करदाताका लागि बालाजुबाट प्रदान हुँदै आएको सेवा पनि अब गल्छीमा स्थानान्तरण गरिएको छ।
नुवाकोट, धादिङ र रसुवालाई समेट्दा करदाताको संख्या झण्डै एक लाख पुग्ने कार्यालयको अनुमान छ। हाल नुवाकोट र धादिङमा मात्र करिब ६० हजार करदाता रहेका छन्।