साकार पोष्ट धादिङ — धादिङमा दृष्टि आँखा फाउन्डेशन नेपालको आयोजना र बेनीघाट रोराङ गाउँपालिकाको सहआयोजनामा नि:शुल्क आँखा जाँच तथा मोतियाबिन्दु शल्यक्रिया शिविर संचालन हुने भएको छ। आँखासम्बन्धी रोगको रोकथाम र उपचारमा सहज पहुँच नपाएका नागरिकलाई लक्षित गरी गाउँ–गाउँमा पुगेर शिविर गर्न लागिएको आयोजकले जानकारीदिएको छ ।
कार्यक्रमअनुसार भाद्र १२ गते बिहीबार वडा नं. ८ स्थित धुषा स्वास्थ्य चौकी, भाद्र १३ गते शुक्रबार वडा नं. ५ को जोगीमारा स्वास्थ्य चौकी, भाद्र १६ गते मंगलबार वडा नं. १० को जयपुरी स्वास्थ्य इकाई र भाद्र १८ गते बुधबार वडा नं. २ को महादेवस्थान स्वास्थ्य चौकीमा आँखा जाँच शिविर सञ्चालन गरिनेछ।
यस्तै, मोतियाबिन्दु शल्यक्रिया शिविर भने भाद्र २०गते बेनीघाट आधारभूत अस्पतालमा हुने भएको आयोजकले जनाएको छ।
शिविरमा आँखा जाँच, औषधि वितरण तथा मोतियाबिन्दुको शल्यक्रिया निःशुल्क गरिने छ। यस अभियानबाट विशेषगरी वृद्धवृद्धा, विपन्न तथा उपचारमा सहज पहुँच नपाएका नागरिकलाई ठूलो लाभ हुने अपेक्षा गरिएको आयोजक संस्थाले जनाएको छ।