साकार पोष्ट गल्छी बैरेनी पुस १ धादिङ । धादिङजिल्लाको गल्छी गाउँपालिका स्वडा नं ६ महेशदोभानमा रहेको अम्लेश्वर गुरुकुल संस्कृत वेद विद्याश्रमको गुरुकुल संरक्षण कोष स्थापनाको लागि आयोजित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा २५ लाख ४० हजार रकम संकलन भएको छ ।
आज सम्पन्न भएको उक्त महायज्ञमा २५ लाख ४० हजार रकम संकलन भएको बालतपस्वी पण्डित उत्तम भट्ट महाराजले जानकारी दिनुभयो ।
अम्लेश्वर गुरुकुल संस्कृत वेद विद्याश्रम र विश्व भागवत धाम कोष, नेपाल उत्तम फाउण्डेशनको आयोजनामा गल्छी वडा नं ६ को महेशदोभानमा गत २३ गते आइतबारदेखि सुरु भएको महायज्ञ आज सोमबार सम्पन्न भएको हो । शनिबार अभिषेक, पूर्णाहुती, शान्तिकलश वितरण, दाता सम्मान गरिएको आयोजकले जानकारी दिएको छ ।
सिद्धलेक गाउँपालिकाका वडा नं–६ स्थित परेवाटारमा बन्दै गरेको धामको प्रचार प्रसार गर्ने उद्देश्यले गरिएको जिल्लास्तरीय १३ वटै स्थानीय तहहरुमा आयोजना गरिने जिल्ला व्यापी अनुष्ठान अन्तर्गत पहिलो अनुष्ठान बुङचुङमा र दोस्रो अनुष्ठान महेशदोभानमा भएको हो । अब बाँकी पालिकामा क्रमश हुँदै जाने पण्डित उत्तम भट्ट महाराजले जानकारी दिनुभएको छ।
राष्ट्र शान्ती एवं धादिङ जिल्लाका समस्त मानव कल्याण, सनातन धर्मको संरक्षण साथै गल्छी गाउँपालिका भित्र दुर्घटना, भूकम्प लगायत विभिन्न प्राकृतिक प्रकोपबाट ज्यान गुमाउनुभएका समस्त आत्माहरुको शान्ती र पितृउद्धारार्थ कामनाको हेतुले अनुष्ठान आयोजना गरिएको आयोजकले बताउनुभयो ।