साकार पोष्ट जेठ २७ गौर आवासीय नेपाली संघ (एनआरएनए)को ९२औं राष्ट्रिय समन्वय परिषद (एनसीसी) कोलम्बियामा औपचारिक रूपमा स्थापना गरिएको छ। संघको अमेरिका क्षेत्रीय संयोजक वेध बस्नेतका अनुसार आइतबार (जेठ २५ गते) सम्पन्न संघीय पदाधिकारी बैठकले कोलम्बियामा गठन गरिएको तदर्थ समितिलाई औपचारिक मान्यता दिएको हो।
यसअघि एनआरएनएले ९१औं शाखाको रूपमा आइसल्याण्डमा राष्ट्रिय समन्वय परिषद गठन गरेको थियो। अब कोलम्बिया त्यसपछि एनआरएनए एनसीसी स्थापना भएको ९२औं देश बनेको हो।
कोलम्बिया तदर्थ समितिको नेतृत्व छत्रबहादुर मैनालीले गर्ने भएका छन्। समितिका अन्य पदाधिकारीहरू यसप्रकार रहेका छन्:
• उपाध्यक्ष: लालबहादुर गुरुङ
• महासचिव: सुन्दर तामाङ
• सचिव: धनबहादुर तामाङ
• उपसचिव: प्रेमबहादुर छेत्री
• कोषाध्यक्ष: मिथुन थापा
• सदस्यहरू: जितबहादुर गुरुङ, प्रविना राई, कमल शर्मा
• सल्लाहकार समिति सदस्यहरू: हर्कराम गुरुङ, उमेश थापा यो समितिको गठनले कोलम्बियामा रहेका नेपालीहरूलाई अझ संगठित गर्दै एनआरएन अभियानलाई प्रभावकारी रूपमा अघि बढाउने अपेक्षा गरिएको छ। संस्थाका नीति तथा कार्यक्रमहरूको कार्यान्वयन, स्थानीय नेपाली समुदायबीच समन्वय र सहभागिता अभिवृद्धि समितिको प्रमुख लक्ष्य हुने जनाइएको छ।
समितिले आगामी जुलाई महिनाभित्र संघको केन्द्रीय सदस्यता प्रणाली (एनआरएनए इन्टिग्रेटेड सिस्टम – एनआइएस) अन्तर्गत सदस्यता लिएपछि मात्र अक्टोबरमा हुने एनआरएनए १२औं महाधिवेशनमा सहभागिता जनाउन पाउनेछ।