साकार पोष्ट माघ २७ गल्छी बैरेनी धादिङ । गल्छि गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शनिबारबाट गल्छी गाउँ पालिका वडा नं ४ मासटारमा रहेको जनकल्याण माध्यमिक विद्यालयको प्राङ्गणमा सुरु भएको छ।उक्त कार्यक्रमको उद्घाटन प्रमुख अतिथी तथा जिल्ला समन्वय समिती धादिङका प्रमुख नवराज अधिकारी र गाउँपालिका अध्यक्ष केदारनाथ खतिवडाले भलिबल पास गरेसँगै प्रतियोगिता सुरु भएको हो । सोहि विद्यालयको व्यवस्थापन र गल्छि गाउँपालिकाको शिक्षा तथा खेलकुद विकास शाखाको आयोजनामा सुरु भएको प्रतियोगितामा गल्छी गाउँपालिका भित्र रहेका नौ वटा विद्यालयका विद्यार्थीहरुले विभिन्न विधामा सहभागिता जनाएका छन् ।




प्रतियोगिताको उद्घाटन समारोहमा विभिन्न विद्यालयका विद्यार्थीहरुले विभिन्न प्रस्तुति सहित मार्चपास गरेका थिए । जिल्ला समन्वय समिती धादिङका प्रमुख नवराज अधिकारी, गाउँपालिका अध्यक्ष केदारनाथ खतिवडा, उपाध्यक्ष भाईकाजी तिवारी, पुर्व उपाध्यक्ष राधा तिमल्सिना, वडा अध्यक्षहरु, विभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधीहरुले प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गरेका छन् ।उक्त प्रतियोगिता फागुन १ गते सम्म सन्चालन भई समापन हुने छ ।