साकार पोष्ट बेलकोटगढी माघ ३ । नुवाकोटको बेलकोटगढी ७ महादेबफॅाटमा यहि माघ २ गते सुरु भएको प्रथम नुवाकोट खेलकुद तथा सास्कृतिक महोत्सवको उपलक्ष्यमा प्रथम चिम्टेश्वर टि २० अन्तरपालिका क्रिकेट प्रतियोगिता आज सम्पन्न भएको छ । आज भएको फाइनल खेलमा गल्छी क्रिकेट क्लबले बेलकोटगढी नगरपालिकालाई ९ विकेटले पराजित गर्दै प्रथम चिम्टेश्वर कप क्रिकेट प्रतियोगिताको उपाधि जित्न सफल भएको छ।
महादेवफाँट खेल मैदानमा सम्पन्न खेलमा गल्छी क्रिकेट क्लबले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो। बलिङमा उत्कृष्ट प्रदर्शन गर्दै गल्छीले बेलकोटगढी नगरपालिकालाई १४.२ ओभरमा मात्र ७५ रनमा अलआउट गर्यो। उक्त खेलमा गल्छीका कप्तान रवीन्द्र नेपालले शानदार बलिङ गर्दै ५ विकेट लिँदै निर्णायक भूमिका निर्वाह गरे।
७६ रनको सामान्य लक्ष्य पछ्याउन आएको गल्छी क्रिकेट क्लबले आक्रामक ब्याटिङ गर्दै ८ ओभरमा मात्र १ विकेटको क्षतिमा लक्ष्य पूरा गर्दै उपाधि हात पार्यो।
यस प्रतियोगितामा गल्छी, थार्के, विदुर र बेलकोटगढी नगरपालिकाका गरी ४ टिमको सहभागिता रहेको थियो। उपाधिसँगै गल्छी क्रिकेट क्लबले रु ३०,००० नगद पुरस्कार समेत प्राप्त गरेको छ।
स्थानीय स्तरमा क्रिकेट खेलको विकास, खेलाडीको प्रतिभा पहिचान तथा खेलकुद संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको उक्त प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ।