धादिङ, असोज २४ ।धादिङ जिल्लाको गल्छी गाउँपालिका–७ भल्टारस्थित पृथ्वीलोकमार्गमा आज बिहान भएको बस र टिप्पर दुर्घटनामा ११ जना यात्रु घाइते भएका छन्। नेपालगन्जबाट काठमाडौंतर्फ जाँदै गरेको लु.प्र. ०१–००१ ख ०७६६ नम्बरको यात्रुबाहक बस र विपरीत दिशाबाट आउँदै गरेको ना ८ ख २५९१ नम्बरको टिप्पर आपसमा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा परि सर्लाही बागमती नगरपालिका–५ की ३६ वर्षीया सरु रावत क्षत्री, १६ वर्षीया प्रबिसा रावत, सिन्धुली घर भई हाल काभ्रे पनौती बस्ने २२ वर्षीया निर्मला घिसिङ, कैलाली गोदावरी नगरपालिका–१० की २४ वर्षीया पवित्रा चौधरी, बर्दिया गुलरिया नगरपालिका–४ की २३ वर्षीया अनिसा भण्डारी, बाँके कोहलपुर नगरपालिका–३ की २३ वर्षीया सरस्वती मल्ल, २८ वर्षीया कविता वली, खजुरा गाउँपालिका–४ का ३५ वर्षीय सोमसिंह सुनार, मुगु कर्मारोङ गाउँपालिका–१ की २२ वर्षीया कोल्सुङ निमा, अछाम तुर्माखाँद गाउँपालिका–७ का २५ वर्षीय गणेश चलाउने र काभ्रे निवासी १७ वर्षीय कोनिकेश लो घाइते भएका छन्।
घाइतेमध्ये निर्मला घिसिङको कम्मरभन्दा तलको भाग नचल्ने अवस्थामा मध्यम चोट लागेको छ भने अनिसा भण्डारीको टाउकोमा मध्यम चोट लागेको प्रहरीले जनाएको छ। बाँकी घाइतेहरू सामान्य अवस्थामा छन्।
घाइतेहरूलाई उपचारका लागि गल्छीस्थित स्मारिका फार्मेसी अस्पताल पठाइएको छ भने केही घाईतेहरुलाई काठमान्डौ पठाउने तयारी हुदै छ । दुर्घटनास्थलमा प्रहरी चौकी गल्छीका प्रहरी निरीक्षक केदार बिकको कमाण्डमा ट्राफिकसहितको टोली खटिएको थियो।
दुवै सवारीसाधन र चालकलाई प्रहरी चौकी गल्छीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ।