साकार पोष्ट गल्छी बैरेनी गल्छी गाउँपालिकाको आयोजनामा यही पुस १० गते सन्सचालन भएको छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ को उपाधि द राइजिङ भिलेज इङलिस स्कुलले हात पारेको छ । गल्छी गाउँपालिका–६ मा अवस्थित उक्त विद्यालयले ९ स्वर्ण, ६ रजत र ३ कास्य गरी कुल १८ पदक जित्दै प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेको हो ।
प्रतियोगितामा गल्छी गाउँपालिका–६ कै सक्सेस एकेडेमीले ६ स्वर्ण, २ रजत र २ कास्य सहित १० पदक प्राप्त गर्दै दोस्रो स्थान हासिल गरेको छ । त्यसैगरी गल्छी गाउँपालिका–५ स्थित अमन्तादेवी माध्यमिक विद्यालयले ५ स्वर्ण, ५ रजत र ९ कास्य गरी १९ पदक जित्दै तृतीय स्थानमा रहन सफल भएको छ ।
गल्छी गाउँपालिकाभित्रका सामुदायिक तथा संस्थागत गरी १५ विद्यालयको सहभागिता रहेको प्रतियोगितामा एथलेटिक्स, दौड, भलिबल, कबड्डी लगायतका विभिन्न खेल विधा समावेश गरिएको थियो । प्रतियोगिताभरि ३० स्वर्ण, ३० रजत र ३० कास्य गरी जम्मा ९० पदक वितरण गरिएको आयोजकले जनाएको छ ।
विद्यार्थी खेलाडीहरूले देखाएको प्रतिस्पर्धात्मक क्षमता, अनुशासन र खेल भावनाको प्रशंसा गर्दै गल्छी गाउँपालिकाका अध्यक्ष केदारनाथ खतिवडाले खेलकुदले विद्यार्थीको शारीरिक, मानसिक तथा नैतिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए । विद्यालय तहबाटै खेलकुदको प्रवर्द्धन गर्दै भविष्यका राष्ट्रिय खेलाडी उत्पादन गर्न गाउँपालिका प्रतिबद्ध रहेको उनको भनाइ थियो ।
समापन कार्यक्रममा गल्छी गाउँपालिकाका उपाध्यक्ष भाईकाजी तिवारी, प्रमुख प्रशासकीय अधिकृत पूर्ण प्रसाद दुलाल तथा गाउँपालिकाका विभिन्न वडाका वडा अध्यक्षहरूको उपस्थिति रहेको थियो। साथै जनप्रतिनिधि, शिक्षा शाखाका अधिकारी, विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक, शिक्षक, विद्यार्थी तथा अभिभावकहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
गल्छी गाउँपालिकाले विगतका वर्षहरूमा जस्तै आगामी दिनमा पनि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितालाई निरन्तरता दिँदै स्थानीय तहमा खेलकुद विकासलाई प्राथमिकतामा राख्ने जनाएको छ ।