गजुरी गाउँपालिका–६ स्थित पाविल स्कुल, आदमघाटमा निःशुल्क आँखा स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ।
पाविल स्कुलको आयोजनामा दृष्टि आई फाउन्डेशनको सह-आयोजक तथा दृष्टी आई केयरको प्राबिधिक सहयोगमा सम्पन्न भएको हो।उक्त शिविरमा २६० जनाले आँखा परीक्षण गराएका छन्। बृद्धबृद्धा, महिला, पुरुष तथा बालबालिका गरी विभिन्न उमेर समूहका स्थानीयले सेवा लिएका थिए।
शिविरमा दृष्टि अस्पतालका विशेषज्ञ टोलीद्वारा आँखा परीक्षण, सामान्य उपचार, औषधि वितरण तथा गम्भीर समस्या भएका बिरामीलाई थप उपचारका लागि अस्पताल सिफारिस गरिएको थियो।
विद्यालयका ब्यबस्थापन समितिका अध्यक्ष रामजी अधिकारीले बताएअनुसार पठनपाठनसँगै सामुदायिक सेवामा पनि विद्यालय अग्रसर हुँदै आएको छ। समाजप्रति उत्तरदायी र सेवामुखी कार्यमा सक्रिय रहँदै आएको विद्यालयले यस्ता स्वास्थ्य सम्बन्धी कार्यक्रमहरू भविष्यमा पनि निरन्तर गर्दै जाने प्रतिबद्धता जनाएको छ।
स्थानीयवासीहरूले यस्ता जनसेवामूलक कार्यहरू विद्यालयबाट नै भइरहनु अत्यन्तै सकारात्मक भएको भन्दै आयोजक र सहआयोजक संस्थालाई आभार व्यक्त गरेका छन्।