साकार पोष्ट मंसिर २८ नुवाकोट जिल्ला, बेलकोटगढी नगरपालिका–५ निवासी तथा हाल अमेरिकामा बसोबास गर्दै आउनुभएका उत्सव रिमालज्यूले आफ्ना हजुरबुबा यज्ञ प्रसाद रिमालज्यूको १०४औँ जन्मदिनको अवसरमा समाजसेवामूलक कार्य गर्नु भएको छ।
उक्त अवसरमा बेलकोटगढी नगरपालिका–५ स्थित श्री गणेशस्थान आधारभूत विद्यालयमा अध्ययनरत बालबालिकाहरूलाई न्यानो कपडा वितरण गरिएको हो। कार्यक्रमका प्रमुख अतिथि बेलकोटगढी नगरपालिका वडा ५ का वडाअध्यक्ष श्री मदन भुजेलज्यू रहनु भएको थियो भने विशेष अतिथि नगर कार्यपालिकाका सदस्य श्री अनुराधा श्रेष्ठज्यू रहनु भएको थियो।
कार्यक्रममा उत्सव रिमालज्यूका ठूला बुबा नारायण रिमालज्यू र कृष्ण रिमालज्यू, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, अभिभावकहरू तथा स्थानीय समुदायको उल्लेखनीय उपस्थिति रहेको थियो।
जाडो मौसममा विद्यार्थीहरूलाई न्यानो कपडाको अभाव नहोस् भन्ने उद्देश्यले गरिएको यो सहयोगले बालबालिकाहरूलाई प्रत्यक्ष लाभ पुगेको विद्यालय प्रशासनले जनाएको छ। कार्यक्रममा बोल्दै अतिथिहरूले विदेशमा रहेर पनि जन्मभूमि र समाजप्रति देखाएको यस प्रकारको योगदान अत्यन्तै प्रशंसनीय र प्रेरणादायी रहेको बताए।
समाजसेवा तथा मानवीय कार्यका लागि अमेरिकामा बसोबास गरिरहेका उत्सव रिमालज्यूलाई हार्दिक धन्यवाद तथा उच्च सम्मान व्यक्त गरिएको छ।