साकार पोष्ट गल्छी पुस २६ धादिङको गल्छी गाउँपालिका वडा नम्बर ८ लाई बालमैत्री स्थानीय शासन वडा घोषणा गरिएको छ। “बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी” भन्ने नाराका साथ आयोजित विशेष कार्यक्रममा वडा नम्बर ८ लाई बालमैत्री वडा घोषणा गरिएको हो।
आज गल्छी गॉउपालिका वडा नं ८ गोगनपानीमा एक कार्यक्रम गरि घोषणा गरिएको हो गल्छी गाउँपालिका र वडा कार्यालयको समन्वयमा स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८ ले निर्धारण गरेका ५१ वटा सूचकहरू पूरा गरेपछि वडा नम्बर ८ लाई बालमैत्री वडा घोषणा गरिएको प्रमाण–पत्र प्रदान गरिएको हो। बालअधिकारको संरक्षण, बालविवाह न्यूनीकरण, बालश्रम अन्त्य तथा बालबालिकाको शिक्षा, स्वास्थ्य र सहभागितामा उल्लेखनीय उपलब्धि हासिल गरेकाले वडा घोषणा गरिएको जनाइएको छ।
घोषणा कार्यक्रमको सभापतिमा गल्छी गॉउपालिका वडा नं ८ का वडा अध्यक्ष बिशाल लुङ्गेली मगर रहनु भएको थियो उक्त कार्यक्रमको प्रमुख अतिथिमा बागमती प्रदेशका सामाजिक विकास मन्त्री माननीय कञ्चन चन्द्र बादे रहनुभएको थियो। विशिष्ट अतिथिमा बाग्मति प्रदेशका पुर्व मन्त्री प्रदेश सासंद मधु कुमार श्रेष्ठ बिशेष अतिथिमामा गल्छी गाउँपालिकाका अध्यक्ष केदारनाथ खतिवडा,गल्छी गॉउपालिका उपाध्यक्ष भाईकाजी तिवारी वडा अध्यक्षहरू, जनप्रतिनिधि, कर्मचारी, शिक्षक, अभिभावक तथा बालबालिकाको उपस्थिति रहेको थियो।
कार्यक्रममा वक्ताहरूले बालमैत्री वातावरण निर्माणले बालबालिकाको समग्र विकास, सुरक्षित भविष्य र सामाजिक रूपान्तरणमा महत्वपूर्ण योगदान पुर्याउने उल्लेख गर्दै आगामी दिनमा पनि निरन्तर सहयोग र सहकार्यको प्रतिबद्धता व्यक्त गरे।