साकार पोष्ट पुस २ हेटौँडा । नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको नवनिर्वाचित समितिलाई प्रमाणपत्र वितरण तथा पद हस्तान्तरण कार्यक्रम आज हेटौंडामा गरिएको छ । निवर्तमान बनेको कार्यसमितिले नयाँ कार्यसमितिलाई पद हस्तान्तरण गरेको हो ।
मंसिर २८ गते देशैभरमा पत्रकार महासंघको निर्वाचन भएको थियो । त्यसै अनुसार बागमती प्रदेशमा निर्वाचित नयाँ कार्यसमतिलाई निर्वाचन समितिका संयोजक प्रताप विष्ट र नानीमैयाँ कार्की (शंझना) ले प्रमाणपत्र वितरण गर्नुभयो ।
आज बिहान हेटौँडा–११ स्थित महासंघको कार्यालय परिसरमा निर्वाचन समितिले कृष्ण सारु मगरको नेतृत्वमा नवनिर्वाचित समितिलाई प्रमाणपत्र वितरण गर्नुका साथै अध्यक्ष मगर र महासचिव राधेश्याम खतिवडालाई महासचिवको पदभार ग्रहण गराइएको हो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका निवर्तमान अध्यक्ष शिव देवकोटाको अध्यक्षतामा दोस्रो सत्रको कार्यक्रमबाट निवर्तमान भएको कार्यसमितिलाई मायाँको चिनो प्रदान गरिएको थियो । मंसीर २८ गते सम्पन्न निर्वाचनबाट मकवानपुरका कृष्ण सारु मगरको अध्यक्षतामा नयाँ समिति निर्वाचित भएको हो ।
नवनिर्वाचित समितिको कार्यकाल ३ वर्षको हुनेछ । पदस्थापन समारोहलाई सम्बोधन गर्नुहुँदै मगरले सबैको साथ र सहयोगमा अध्यक्षको जिम्मेवारी प्राप्त भएको उल्लेख गर्नुहुँदै सबैको साथ र सहयोगमा महासंघ सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका संस्थापक अध्यक्ष समेत रहनुभएका निर्वाचन समिति संयोजक विष्टले तीन पटक मिति तय भएर पनि निर्वाचन हुन नसक्दा कमजोर बनेको महासंघ निर्वाचन सम्पन्न भएसँगै सवल देखिएको बताउनुभयो ।
पदभार ग्रहण लगतै बसेको समितिको बैठकले पत्रकार महासंघ बागमती प्रदेशका लागि प्रताप विष्टको संयोजकत्वमा जग्गा प्राप्ती र भवन निर्माण गर्नका लागि समिति गठन गरेको छ ।